logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन खुल्नेवित्तकै परीक्षा सञ्चालन गर्ने निर्णय असान्दर्भिक : अनेरास्ववियू


अंकुरण खबर
702
Shares

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले लकडाउन खुलेसँगै तत्काल पठनपाठन र परीक्षा सञ्चालन गर्ने विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको घोषणाप्रति आपत्ति जनाएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै लामो दूरीका सवारी साधन सञ्चालन नहुँदै तथा विद्यार्थीलाई आवश्यक तयारीका लागि समय नै नदिइ कक्षा तथा परीक्षा सञ्चालनको घोषणा गरिनु असान्दर्भिक भएको बताएका छन् ।

लकडाउनका बेला आ–आफ्नो घर गएका टाढाका विद्यार्थीहरुको आफ्नो शिक्षण संस्थामा फर्किने समय परीक्षाको न्यूनतम तयारीको समय समेतलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक असान्दर्भिक रहेको प्रष्ट छ,’ तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीहरुलाई यसले थप मानसिक तनाव दिएको ।’

परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यवहारिक पक्षलाई समेत हेक्का नराखी गरिएको निर्णय तत्काल फिर्ता लिन पनि अनेरास्ववियूले माग गरेको छ ।

सहसंयोजक तामाङले सबै विद्यार्थीहरुको निःशुल्क पीसीआर विधिमार्फत कोभिड-१९ परीक्षण गर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भनेर गत चैत १० गतेदेखि जारी गरेको लकडाउन अन्त्य भएको घोषणा गरेपछि त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । यस्तै, अन्य शैक्षिक संस्थाहरुले भदौ १ गतेदेखि नै नयाँ भर्ना शुरु गर्ने र भर्ना सकिएपछि पठपाठन शुरु गर्ने गरी सूचना प्रकाशित गरेका छन् ।