सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर नै प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
पार्टीभित्र ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने दबाब बढिरहेका बेला पार्टी विग्रह तत्काल रोक्नका लागि गौतमले दुवै अध्यक्षसमक्ष राखेको प्रस्ताव उनको सचिवालयले सार्वजनिक गरेको छ।
गौतमले राखेको प्रस्तावअनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ।
त्यस्तै पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने उनको प्रस्ताव छ। त्यसैगरी प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने गौतमले अघि सारेको प्रस्तावमा भनिएको छ ।
पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने पनि गौतमको प्रस्ताव छ। उनले दुवै अध्यक्ष समक्ष राखेको प्रस्तावमा अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
यस्तो छ गौतमको प्रस्ताव:
