logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा कार्यदलको बैठक बालुवाटारमा


अंकुरण खबर
2.47K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्न गठित सुझाव प्रस्ताव कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै जारी छ ।

महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलको यो बैठक बालुवाटारमा बसिरहेको हो।

२९ साउनमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पौडेलको नेतृत्वमा ६ सदस्यीय सुझाव प्रस्ताव कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई गएको १ भदौमा बसेको सचिवालय बैठकले अनुमोदन गरेको छ ।

सचिवालयबाट अनुमोदन भएपछि कार्यदल विवाद हल हुनेगरी प्रस्ताव ल्याउन सक्रिय भएको छ। “केही दिनभित्रै सुझाव बुझाउन कार्यदललाई निर्देशन दिइएको छ, त्यसैअनुसार छलफल बढाइएको छ”, उच्च स्रोतले भन्यो।

गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्रको विवादकै कारण अनिश्चित बनेको छ । १३ साउनमा दुई अध्यक्ष ओली र दाहालले स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएपछि विभाजनकै नजिक पुगेको नेकपाभित्र सहमति खोज्न कार्यदल गठन गरिएको छ।

कार्यदलमा ओली, दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल तर्फका दुई–दुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, दाहालका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।