logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा एसिडपीडित मुस्कानलाई दिए एक महिनाको पारिश्रमिक


अंकुरण खबर
1.482K
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।

नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् ।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । उनले भने, ‘मलाई विश्वास छ, तपाईं भविष्यमा डाक्टर बन्ने तपाईंको आकांक्षा पूरा हुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’ उनले एसिड पीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जिन्दगीभर सम्बन्ध रहिरहने बताए ।

भट्टराईले आफ्नो फेसबुक पेजमा खातुनसँगको भेटको प्रसङ्ग सम्झिएका छन् । गत माघ महिनामा होटल हायातमा भएको भेटलाई सम्झिँदै भट्टराईले त्यहाँको कार्यक्रममा मुस्कानको बुलन्द भाषणबाट प्रभावित भएको बताएका छन् ।

त्यही समारोहमा गरेको बचनबद्धता आज पूरा गर्छु भन्दै भट्टराईले ‘आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गरेको छु,’ भनेका छन् ।

गत वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।