खेलकुद

क्रिकेटर ललितको उपचारका लागि आर्थिक सहयोग गर्न सीप्यानको आग्रह

सवारी दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीको उपचारका लागि सहयोग गर्न क्रिकेट खेलाडी संघ (सीप्यान)ले आग्रह गरेको छ ।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै सीप्यानले ललितको उपचारका लागि सबैसँग सहयोग गर्न आग्रह गरेको हो ।

‘खेलाडीको हकहितका लागि बिगतदेखि नै काम गर्दै आएको सीप्यानले भण्डारीको सहयोगका लागि पहलकदमी लिने जानकारी गराउँछौँ’, अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्का हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘सीप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अपील गर्दछौँ।’

सहयोग गर्न चाहनेले सिप्यानको पुलतीसडकस्थित सेन्चुरी कमर्सियल बैंक लिमिटेडको खाता नम्बर ००१०००२५२९ सीएमा रकम जम्मा गराउन सक्ने सिप्यानले जनाएको छ ।

गत आइतबार राति कञ्चनपुरमा क्रिकेटर ललित चढेको मोटरसाइकललाई ट्रकको ठक्करबाट उनी सख्त घाइते भएका थिए। उनलाई धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यहाँबाट पनि थप उपचारका लागि सोमबार सिम्रक एयर मार्फत् काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको छ ।

क्रिकेटर भण्डारीको अहिले ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ ।

Comment here