नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ ।
सोमबार नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्न माग गरेका हुन् । ‘शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उनले भनेका छन् ।
अध्यक्ष ढुंगानाले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तिजनक भएको बताए । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ ।
नेविसंघका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताए। विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । महामन्त्री भट्टराईले नेविसंघले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिएपनि ज्ञापनपत्रको सुनुवाइ नभएको बताए।