खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सोमबार राति वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनाले गोल गरी सुरुवाति अग्रता दिलाए ।

३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर अग्रता दोब्बर पारे । पछि परेको वुल्भ्सका लागि ७८ औँ मिनेटमा जिमिनेजले एक गोल फर्काए ।

इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो ।

जिससको गोलका लागि डी ब्रुयनाले सहयोग गरेका हुन् । पहिलो खेलमा विजयी भएको वुल्भ्स भने आफ्नो दोस्रो खेलमा सिटीसँग स्तब्ध भयो ।

सोमबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

शेफिल्ड लगातार दुई खेलमा पराजित भयो भने एस्टन भिल्लाले लिगमा विजयी सुरुवात गरेको हो ।

Comment here