चितवन टाइगर्सको पहलमा मोटरसाइकल दुर्घटनामा परी उपचार गराइरहेका राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग सहकार्य गरी एक लाख एघार हजार एक सय एघार रूपैयाँ प्रदान गरेको हो।
चितवन टाइगर्सका मालिक तथा लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्राई र अध्यक्ष शुशील विष्टले बुधबार ग्रान्डी अस्पताल पुगेर ललितकी श्रीमती ममतालाई चेक प्रदान गरेका थिए । ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग चितवन टाइगर्सबाट खेलेका थिए ।
कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परी ललितलााई गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि धनगढीबाट कोहलपुर ल्याइएको थियो भने लगतै एयर लिफ्ट मार्फत काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो ।
उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भैसकेको छ । साथै उनको उपचारको लागि सिप्यानले पनि सबैलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
उनको उपचारमा कम्तिमा १० देखी १५ लाख खर्च हुने सुरूवाती अनुमान गरिएको छ।