सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । तर, छलफलबाट कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा दुई अध्यक्षबीच एक हप्तादेखि लगातार छलफल भइरहेको भए पनि सहमति हुन सकेको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही मन्त्री परिवर्तन गर्नुपर्ने अडान राख्दै आएका छन् भने प्रचण्डले धेरै संख्यामा मन्त्री परिवर्तन गर्नुपर्ने अडान राख्दै आएका छन् ।
छलफलअघि अध्यक्षद्वयले आफूनिकट नेतासँग छुट्टाछुट्टै छलफल गरेका थिए । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति बन्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।