logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्‍याउन राष्ट्रपतिको आह्वान


अंकुरण खबर
1.027K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ३०औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी छन् ।

नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’कोभावना रहेको र सामाजिक दायित्वप्रतिसंवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको जनाउँदै राष्ट्रपतिले आआफ्ना स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन सबैमा आह्वान गरेकी हुन ।

परिवारको लालनपालनसहित जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकले पुऱ्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रपतिले उनीहरुले जीवनभर सँगाल्नुभएको अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास व्यक्त गरेकी छन ।

सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ। ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि विक्रम संवत् २०५१ देखि शुरु गरिएको ज्येष्ठ नागरिक भत्ता यस सन्दर्भमा एउटा कोसेढुङ्गाका रूपमा रहेको छ, जसले आजसम्म निरन्तरता पाएको छ। सामाजिक सुरक्षाको दायरालाई क्रमशःफराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागु गरिएको छ । यी कदमहरूले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ भन्ने मेरो विश्वास रहेको छ ।’

ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान राष्ट्रपति भण्डारीले सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै उहाँहरुको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गरेकी छन ।

सन १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।

राष्ट्र सङ्घले यस वर्ष अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमो ‘महामारीः के ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउला ?’ भन्ने नारा राखेको छ ।