logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

कोरोना भाइरसको संक्रमणबाट कास्कीको पोखरा महानगरपालिकामा १ महिलासहित थप ४ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका –१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।

त्यसै गरी पोखरा– २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ९:३० बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

पोखरा– ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

त्यस्तै पोखरा–१५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशभर हालसम्म ६३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३-३ तथा म्याग्दीका २ जना छन् ।