logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेकपालाई कसैले कुनै पनि हालतमा फुटाउन सक्दैन : झलनाथ खनाल


अंकुरण खबर
2.912K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने दाबी गरेका छन् ।

पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न समेत नेता खनालले चेतावनी दिएका हुन् ।

‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न्,’ इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले भने ।

नेता खनालले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए । खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उल्लेख गरे ।

उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे । ‘नेकपालाई कसले फुटाउन सक्छ कुन नीतिले फुटाउन सक्छ कुन कानूनले फुट्न सक्छ हामी चुनौती दिन चाहान्छौँ,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानूनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानूनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनुपर्ने कुरा छैन ।’