नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुर्व्यवहार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो।
महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसका वरिष्ठ नेतालाई बद्नियतपूर्ण दुर्व्यवहार र कार्यकर्तामाथि अश्रुग्यास प्रहार लोकतन्त्रमाथिकै प्रहार हो। दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ।’
संघले सकार लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण भएको ठहर गरेको छ। यसका साथै सरकारको यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ।
बुधबार कांग्रेसका वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टापछि छोडेको थियो।
