प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
कुहिरो लागेपछि खेल ढिलो सुरु भयो । २० ओभरको खेललाई छोट्याएर १३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ ।
दाङको देउखुरीस्थित लमही क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि ३५ रनको झिनो लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।
लुम्बिनीकी नेरी थापाले ९, गीता गोसाईले ४ र सरस्वती घर्तीमगरले ३ रन जोडे ।
कर्णालीकी अन्जु गुरुङले एक विकेट झारिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रनको योगफल तयार पारेको थियो । दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिएको खेलमा अंशु शाक्य ७ रनमा अविजित रहिन् ।
ओपनर मोनिका राना र तिर्सना विश्वकर्माले समान २ रन जोडे । कप्तान लक्ष्मी रिमाल २ तथा अन्जु गुरुङ १ रन जोडे ।
कर्णालीलाई कम स्कोरमा समेट्न लुम्बिनीकी सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन् । कप्तान नेरी थापाले २ तथा सरिता जिसी र गिता गोसाईले समान १ विकेट झारे ।
लगातार दोस्रो हार व्यहोरेको कर्णालीको समूहबाट बाहिरिन औपचारिकता मात्र बाँकी छ । पहिलो खेलमा कर्णाली एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । लुम्बिनीले भने पहिलो खेलमा प्रदेश २ लाई ९ विकेटले पाखा लगाएको थियो ।
आजै हुने दोस्रो खेलमा विभागीय एपिएफ र प्रदेश २ भिड्दै छन् ।