नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सामन्ती शासक श्री ३ जंगबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन् ।
पेरिसडाँडामा सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा हिँडेपछि पार्टीभित्र विभाजन आएको बताएका हुन् ।
‘केपी ओली जंगेको बाटोमा हिँड्नुभयो,’ उनले भने,‘ त्यो दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो । नेकपामा विभाजन आउनुमा उहाँकै हात छ ।’ प्रचण्डले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गरेर कलंकको टीका लगाएको पनि आरोप लगाए ।
संसद विघटन गरेर ओलीले आफूहरुलाई जनतामाझ जाने मुद्दा दिएको पनि बताए । प्रचण्डले संविधान, संघीयता र गणतन्त्रको पक्षमा लड्ने मुद्दा आफूहरुले पाएकाले आफूहरुले अर्को निर्वाचन जित्ने पनि दाबी गरे ।