logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महेश वस्नेतविरुद्ध स्टाटस लेखेपछि पक्राउ परेका चन्दलाई रिहाइ गर्न कांग्रेसको माग


अंकुरण खबर
1.157K
Shares

नेपाली कांग्रेसले आफ्ना पार्टी सदस्य डिल्लीबहादुर चन्दलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएकोमा विरोध गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै चन्दलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ उनले भने ।

डिल्लीको लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था रहेको शर्माको भनाइ छ ।

तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो,’ उनले भनेका छन् ।

‘सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिक माथि देखाउन खोजेको तुजुक निन्दनीय छ । कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ’ उनले भने ।

चन्दमाथि नेकपा नेता महेश बस्नेत र पूर्वआइजिपी सर्वेन्द्र खनाललाई आठ महिनाअघि सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोप छ।