संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।
संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताए ।
मन्त्री ढकालले भने, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईँहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”
मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्ता जनभावनाको परीक्षण नगरी सत्ता बाँडीचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए ।