logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप : गण्डकीमाथि आर्मीको सहज जित


अंकुरण खबर
1.248K
Shares

काठमाडौंमा शुक्रबारबाट सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

आजको खेलमा आर्मीले गण्डकीमाथि ९९ रनको सहज जित हात पारेको हो । आर्मीले दिएको २८८ रन पछ्याउने क्रममा गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि समीर कँडेलले अर्धशतकीय पारी खेले । ३५।४ ओभरमा राजेश पुलामीमगरको बलमा रोहित पौडेलको हातबाट क्याट आउट भएका उनले ९० बलमा ५ चौकाको मद्दतमा ५० रन प्रहार गरे । ३७ रनमा अविजित रहेका कप्तान विपिन खत्रीले २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

१५ वर्षीय ब्याट्म्यान अर्जुन कुमालले पनि आजको खेलमा राम्रो प्रभाव छाडे । १६.६ ओभरमा रोहित पौडेलको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच आउट भएका उनले ५४ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ३६ रन प्रहार गरे ।

आर्मीका लागि राजेश पुलामीमगरले ५, भीम सार्कीले ३, रोहित पौडेल र आकाश चन्दले समान १–१ विकेट हात पारे ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रनको योगफल तयार पारेको थियो । आर्मीले ठूलो योगफल बनाउने क्रममा कप्तान विनोद भण्डारीले शतकीय पारी खेले १११ रनमा अविजित रहेका उनले ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।

ओपनर राजु रिजालले ४५, लोकेश बमले ४२ रनको योगदान दिएका थिए । राजुले ७१ बलमा ४ चौका र १ छक्का र लोकेशले ३० बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

गण्डकीका लागि विपिन खत्री र विशाल पौडेलले समना २–२ तथा दिपेश खत्री र चन्द्र पौडेलले समना १–१ विकेट प्राप्त गरे । आर्मीले आफ्नो दोस्रो खेलमा आइतबार कर्णालीसँग प्रतिस्पर्धा गर्दा गण्डकीले सोमबार प्रदेश–१ सँग खेल्नेछ ।