नेकपाको दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले आफैंले बनाएको प्रधानमन्त्रीले चालेको कदमविरुद्ध सडकमा आउनुपर्दा लज्जाबोध भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध उक्त समूहले आयोजना गरेको शक्ति प्रदर्शनपछि आयोजित विरोध सभामा उनले भने, ‘कमरेड ओली र प्रधानमन्त्रीलाई भन्न चाह्न्छु– तपाईं गलत हुनुहुन्थ्यो। अझै समय छ, फिर्ता लिनुस्। तपाईंले टेर्नुभएन भने इतिहासको कठघरामा उभ्याइने छ। आजको मास देखिसक्नु भयो। तपाईं ताण्डव नाच नाच्दै हुनुहुन्छ। पार्टी एकताको सिँढी चढेर अहिले तपाईंले यस्तो गर्दै हुनुहुन्छ। उत्ताउलो हुँदै जान थाल्नुभयो।’
प्रधानमन्त्री ओली विश्वासप्रति गैरजिम्मेवार भएको आरोप भुसालले लगाए। ‘उहाँले विकास र उन्नतिलाई ध्यान दिनुभएन। आफ्ना नेता–कार्यकर्ता र पार्टीका शीर्ष नेताहरूको हुर्मत लिन थाल्नुभयो। पार्टीमा, सरकारमा र जनतामा अल्पमतमा पर्दै गएपछि संसद् विघटन गर्नुभयो,’ भुसालले भने।
दुई तिहाइ जनमत हुँदाहुँदै संसद् विघटन गरेर मध्यावधि घोषणा गर्नु ‘भएको छोरो मारेर पूर्णिमाको व्रत बस्ने काम’ भएको टिप्पणी उनले गरे। ‘तपाईंहरु हेर्नुहोला, चुनाव कुनै पनि हालतमा हुँदैन। हामी केपी ओलीलाई छाड्नेवाला छैनौं। ओलीलाई पराजित नगरेर अब सम्भव छैन। कमरेड ओली तपाईं पराजित हुनु हुनेछ। तपाईंका अगाडि अब तपाईंकै ‘साइबर स्याल’को समूहबाहेक अरु केही बाँकी छैन,’ भुसालले भने। राष्ट्रपति संस्थालाई प्रधानमन्त्रीले निजी सचिवालय बनाएर राखेको आरोप उनले लगाए।
ओलीले सबैतिर सेटिङ मिलाएर संसद् विघटन गरेको तर त्यो सेटिङ नचल्ने दाबी उनले गरे। ‘ओलीले सबै सेटिङ गरिसक्नुभएको भन्ने छ। तर अदालत तपाईंको सेटिङमा चल्दैन,’ भुसालले भने।