logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कपमा आज समूह चरणका अन्तिम खेल हुँदै


अंकुरण खबर
663
Shares

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन्।

समूह ए को अन्तिम खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। सो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणको विजेता र उपविजेता हुँदै यी दुवै क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। पीएम कपमा यी दुवै क्लब अपराजित हुन्। यसकारण आजको खेल निकै प्रतिस्पर्धात्मक बन्ने पक्का छ।

यता समूह बी को अन्तिम खेल भने मूलपानी मैदानमा हुनेछ। सो खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

नेपाल पुलिसलाई यो खेल गर वा मरको अवस्थामा छ। उसले प्रदेश २ विरुद्ध जित निकालेको खण्डमा सेमिफाइनल पुग्ने छ। र, पराजित भए प्रतियोगिताबाट बाहिरिने छ।

यता प्रदेश २ भने सबै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले प्रदेश २ सान्त्वना जित निकाल्ने प्रयासमा छ।

समूह बी अन्तर्गत हिजोको खेल टाई भएपछि बागमती प्रदेश समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

यदि आजको खेलमा पुलिस पराजित भए पाँच अंकका साथ दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ।