सानदार बलिङमा सशस्त्र प्रहरी बल एपिएफ डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई ३० रनले हराउदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
अत्यन्त खराब ब्याटिङमा प्रहरीले २०४ रनको लक्ष्य पुरा गर्न नसक्दा हार बेहोरेको हो । टियु मैदानमा फाईनलरुरु प्रवेशका लागि दुई विभागीय टिमबीचको प्रतिस्पर्धामा पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
एपिएफका लागि शंकर रानाले ४४, सन्दीप जोराले ३४ र भुवन कार्कीले ४२ रनको योगदान दिए । अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेन । बलिङमा आरिफ शेखले तीन तथा ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए ।
जवाफमा २०४ रनको लक्ष्य पछ्याएको नेपाल प्रहरी ४९ दशमलव २ ओभरमा अल आउट हुदै १७३ रनमा समेटियो । टप अर्डरका खेलाडीहरूको बिर्सनलायक प्रदर्शनमा प्रहरीले पहिलो क्रमका तीन ब्याट्सम्यान गुमाउँदा मात्र १५ रन बनाएको थियो । लगत्तै भरपर्दा खेलाडी दिपेन्द्र सिंह ऐरी पनि ३३ रनमा आउट हुँदा नेपाल प्रहरी थप संकटमा परेको थियो ।
छैठौ क्रमका ब्याट्सम्यान पवन सराफले इनिङस सम्हाल्ने कोशिस गरेपनि उनलाई अन्य खेलाडीले साथ दिन सकेनन् । बलिङमा भुवन कार्कीले चार विकेट लिए ।
अब एपीएफले उपाधिका लागि भोलि हुने नेपाली सेनारु र वाग्मती प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।