पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आवश्यक परेको खण्डमा संसद बैठक बस्ने बताएका छन् ।
संसद विघटनविरुद्ध शुक्रबार विराटनगरमा आयोजित दाहाल-नेपाल पक्षको विरोध सभालाई सम्बोधन गर्दै संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन रहेको हुँदा संसद बैठक नबसेको भन्दै उनले आवश्यक परे संसद बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने बताए ।
आफूलाई सर्वोच्च अदालतप्रति विश्वास रहेको उनको भनाइ छ । उनले भने, ‘सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ । जरुरी पर्यो भने हामी संसद बैठक बस्छौँ । सभामुखले बैठक आह्वान गर्छन् । हामी ओलीलाई कारबाही गर्छौ ।
बाहिर ओलीले अदालतसँग सेटिङ गरेको हल्ला चलाइएको भन्दै प्रचण्डले अब जनताले सेटिङ गर्ने चेतावनी दिए ।
प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नेपाली जनताले ७० वर्ष लामो लडाईबाट प्राप्त गरेको संविधानमाथि हमला गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘यो संसद विघटन गरेको होइन । संविधानको विघटन हो । संविधानमाथि हमला हो। हाम्रो अघिकारमाथिको हमला हो । ७० वर्षको लडाईँबाट प्राप्त सविधानमाथि हमला भयो।’
ओलीले संसद विघटन गरेको नभइ हजारौँको बलिदानबाट ल्याइएको संविधान विघटन गरेको प्रचण्डको भनाई छ ।