logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला राष्ट्रिय लिग : विराटनगरमाथि चन्द्रपुरको जित, वालिङसँग पुलिस स्तब्ध


अंकुरण खबर
949
Shares

रजनी थोकरको निर्णायक गोलको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब स्याङ्जा नगरपालिकासँग स्तब्ध भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको आजको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १-० ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

पहिलो चरणको खेलमा ५-० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला पनि लिएको छ । दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ । चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुआतबाट दबाब दिँदै खेले पनि जित निकाल्न असफल रह्ययो ।

जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो । यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङ सँग १-१ को बराबरी खेलेको थियो ।

लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।