महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपीएफ क्लब उपाधि नजिक पुगेको छ ।
सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पुलिसकी कप्तान घिमकुमारी गुरुङबाट ६९ औँ मिनेटमा आत्मघाती गोल भएको थियो। ७५ औँ मिनेटमा पुलिसकी अमृता जैँशीले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
एपीएफकी रविना गोलेले ८६ औँ मिनेटमा गरेको गोल एपीएफलाई जित दिलाउन पर्याप्त बन्यो । एपीएफले आगामी खेलमा विराटनगर महानगरपालिकासँग खेल्दै छ । त्यसपछि अन्तिम खेलमा निकटतम प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।