logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय गृहमन्त्रीको अभिव्यक्तिप्रति दाहाल–नेपाल समूहको आपत्ति


अंकुरण खबर
715
Shares

नेकपा दाहाल–नेपाल समूहले भारतका गृहमन्त्री अमित शाहले  नेपालका सम्बन्धमा प्रकट गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेकपा दाहाल–नेपाल समूहले आज प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । ‘सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहनुभएका विप्लव देवले उहाँहरुसँगको छलफलमा तत्कालीन जनता पार्टीका अध्यक्ष एवं भारतका गृहमन्त्री अमित शाहले नेपाललगायतका देशहरुमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नुभएको अभिव्यक्ति दिनुभएको थियो । हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिको गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ,’  विज्ञप्तिमा उल्लेख छ।

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो अभिव्यक्तिले दुई छिमेकी राष्ट्रबिचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने बताए।

‘नेकपा यस प्रकारको अत्यन्त संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरुबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने भएकाले भारत सरकार अमित शाहबाटसमेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।