विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले । शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे ।
यस्तै, शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए । पवन सर्राफ भने सुन्य रनमा आउट भए ।
काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै, हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।
बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए । एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए ।