नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको भन्दै एमालेको माधव–झलनाथ पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आज राजेन्द्र पाण्डेसहितका नेताहरु निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । ‘बालुवाटारमा विशेष बैठक भन्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाइएको विषयमा जानकारी गराएका छौं,’नेता पाण्डेले भने ।
माधव–झलनाथ पक्षले आफैंले बनाएको विधानविपरीत पदाधिकारी हटाउने, नयाँ मानिसहरु नियुक्त गर्ने र जिम्मेवारी हेरफेर गर्ने काम भएको भन्दै आयोगमा निवेदन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको विशेष बैठक भन्दै केही दिनअघि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए ।
उनले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटी सदस्यमा समेत नियुक्त गरेका थिए। त्यस्तै, माधव -झलनाथ पक्षीय नेताहरुको जिम्मेवारी खोसेर आफू निकटका मानिसहरुलाई दिएका थिए ।