टीकापुर हत्याकाण्डका मुख्य दोषी एवम् सांसद रेशम चौधरी रिहाइको माग गर्दै माइतीघर मण्डलमा बसेको धर्नामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।
चौधरीको रिहाइका लागि बिहीबार बसेको धर्नामै पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गरेका हुन् ।
सरकारले नेत्रविक्रम चन्द विप्लव र छुट्टै राज्य मागसहित आन्दोलनरत सिके राउतलाई मूल धारमा ल्याए पनि पहिचानको लडाइँमा होमिएका चौधरीसहितलाई नछाडेको भन्दै थारु अगुवाहरुले धर्ना दिँदै आएका छन् ।
माइतीघरमा धर्ना दैनिक एक घन्टा हुँदै आएको छ । माग मुद्दा सुनुवाइका लागि थारु अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
२०७२ भदौमा कैलालीको टीकापुरमा नाबालकसहित ८ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकारका रुपमा परिचित छन् रेशम चौधरी । तर थारु समुदायले मुद्दा फिर्ता र दोषी ठहर भइ जेल पुगेकालाई छाड्न मागसहित यही आइतबारदेखि धर्ना दिइरहेका छन् ।