गृहमन्त्री रामबहादुर थापा बादलले रेशम चौधरी समर्थक तथा संघर्ष समितीलाई वार्ताका लागि लिखित पत्र पठाएका छन् ।
चैत ८ गतेदेखि रेशम चौधरी समर्थकले राजधानीको माइतीघर मण्डालामा धर्ना दिँदै आएकोमा शुक्रबार गृहमन्त्री बादलले सरकारसँग वार्ताको आव्हान गर्दै पत्र पठाएका हुन् ।
गृहमन्त्री थापाले वार्ताका लागि पत्र पठाएको थरुवट थारुवान संयुक्त संघर्ष समितीकी संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन्। चौधरीले धर्ना चैत १३ गते शुक्रबारबाटै स्थगन गरिएको पनि बताएकी छन् ।
गृहमन्त्रीको लिखित पत्र प्राप्त भएसँगै संघर्ष समितीले सरकारसँग वार्ताको लागि आवश्यक वातावरण मिलाउने समेत संयोजक चौधरीले बताइन् ।
गृह मन्त्री थापा बिहीबार मात्रै रेशम चौधरीको मुद्धा खारेजीका लागि हुँदै आएको धर्नास्थल पुगेका थिए । बिहीबार माइतीघर मण्डलामा धर्ना भइरहँदा पुगेका थापाले रेशम चौधरीको रिहाइ लगायत माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका थिए ।
बिहीबार आन्दोलनकारीलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाइंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । वार्ता र संवादबाट यसलाई हल गरौं ।’
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका एमाले सांसद महेश बस्नेतले जेलमै पुगेर रेशम चौधरीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार टिकाइराख्न जनता समाजवादी पार्टी ९जसपा०को साथ खोजिरहेका छन् । जसपाले भने रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा लागेका मुद्दाको खारेजी र संविधान संशोधन लगायत आफ्ना माग पूरा हुनुपर्ने शर्त राख्दै आएको छ ।