माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई पार्टीको समर्थन नरहेको बताएका छन्।
पार्टी स्थायी कमिटीको बिहीबार बिहान सम्पन्न अनौपचारिक बैठकपछि श्रेष्ठले प्राविधिक हिसाबबाट समर्थन फिर्ता लिएको पत्र पठाउन मात्र बाँकी रहेको बताए। ‘२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि यो सरकारले हामीसँग समर्थन मागेको पनि छैन र हामीले समर्थन गरेका पनि छैनौँ,’ उनले भने, ‘हाम्रो समर्थन छैन भनेर औपचारिक रूपमा लेखेर दिने कुरा मात्रै हो। त्यसले अरू कुनै प्रक्रिया अगाडि बढाउन रोक्दैन।’
सबै राजनीतिक दललाई आ-आफ्ना कुरा स्पष्ट रूपमा बाहिर ल्याउन आग्रह गरिरहेको उनले बताए। ‘केपी ओलीकै सरकारमा कसैलाई जानुछ या समर्थन गर्नुछ भने पनि स्पष्ट गरे हुन्छ,’ उनले भने, ‘तर, प्रष्टसँग आउनुपर्यो। हाम्रो लाइन प्रष्ट छ, हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्छौँ। हामी पुनःस्थापनाको औचित्य प्रमाणित गर्न चाहन्छौँ। अर्थात्, हामी यो संसद्लाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौँ।’