नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने हो भने वडासम्म नै संगठन बनाउनुपर्ने बताएकी छन्।
झलनाथ खनाल-माधवकुमार नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेलालाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले केपी ओलीसँगको लडाइँमा जित आफुहरुकै हुने बताइन्। ‘केपी कमरेडसँग हामी लड्दैछौँ, हामी जित्छौँ होइन त ? जित्नका लागि दुई चारवटा काम गर्नैपर्छ’, उनले भनिन्, ‘केपी कमरेडको अनुहार मन नपरेर, जुँगा मन नपरेर लडेका होइनौँ। उहाँले कम्युनिष्ट आन्दोलन सिद्याउन लागेकाले लडेका हौँ।’
ओलीको प्रतिगामी सोच र विचार गलत रहेको उनले बताइन्। ‘उहाँको प्रतिगामी सोच, विचार र शैली व्यवहार गलत छ। आज हामी कुन हालतमा पुगेका छौँ, त्यो केपी ओलीकै कारण हो’ उनले भनिन्, ‘हामीले जित्ने हो भने जिल्ला कमिटीले संगठन निर्माण र विस्तार गर्ने हो। ओलीका कारण काठमाडौं छिया छिया भएको छ। त्यसैले वडा तहसम्मै संगठन लानुपर्छ।’
उनले अल्छी गरेर बसेर ओलीलाई हराउन नसकिने बताइन्। ‘अल्छी गरेर भोलि गर्छु भनेर ओलीलाई जितिन्न। पहिलो काम संगठन विस्तार र निर्माण गरौँ’, उनले थपिन्, ‘विचारविहीन मान्छे हुन् केपी ओली, उनीसँग लड्न संगठन बनाउन जरुरी छ, विचारमा पनि प्रष्ट हुन सक्नुपर्छ।’
उनले कुनै हालतमा केपी ओलीलाई परास्त गर्नैपर्ने अडान लिइन्। ‘केपी ओलीलाई परास्त गर्नैपर्छ, प्रतिगमनलाई परास्त गर्नै पर्छु, उनले थपिन्, उचाइमा पुगेको झण्डा खस्न लागेको छ। अब सगरमाथाको उचाइमा कम्युनिष्ट झण्डा हामीले गाड्ने छौँ।’