माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आकाशमा प्रतिक्रान्तिको बादल मडारिएको बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेश समन्वय समितिले बिहीबार सुर्खेतमा गरेको कर्णाली प्रदेशस्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रमा सम्बोधन गर्दै दाहालले देशमा प्रतिक्रान्तिको खतराको घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा बताए ।
‘जनयुद्व, जनआन्दोलन, शान्ति सम्झौता र शान्ति प्रक्रियाबाट उपलब्ध सकारात्मक उपलब्धिहरु खतरामा परेका छन्’ दाहालले भने, ‘प्रतिक्रान्तिको कालो बादल मडारिरहेको छ ।’
उनले नेपालको बारेमा फैसलला गर्ने नेपाली जनतको आत्मनिर्णयको अधिकार जोखिममा परेकोसमेत बताए। ‘हामीले हिजो रगत बगाएर प्राप्त गरेका उपलब्धिहरु अब चाहिँ फेरि उल्टिने ठाउँमा आइपुग्यो’ दाहालले भने, ‘अहिले पनि खतराको घण्टी बजिराखेकै छ।’
संविधानले महिलाहरुलाई अधिकार सम्पन्न गराएको तर्क गर्दै दाहालले संसद विघटन गर्ने प्रयास यसको एउटा उदाहरण भएको तर्क गरे।
‘सिंहदरबार भित्रबाट या बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन’ उनले भने, ‘अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने हामीले निर्क्योल लियौं, मैले एउटा संकल्प गरेँ र म कर्णाली प्रदेशमा आएँ।’ तीन दिनदेखि कर्णालीमा रहेका दाहाल बिहीबार नै काठमाडौँ फर्कदै छन्।