logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

भीम रावलको आरोप- ओलीले गोयल भेटेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्से


अंकुरण खबर
871
Shares

नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले रअ प्रमुख सामन्तकुमार गोयल भेटेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा बिर्सेको आरोप लगाएका छन् ।

धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नै उनले भने, उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको होइन भनेर गोयलसँग निर्णय गरेको भए हामीलाई जानकारी गराइएको छैन ।

राष्ट्रपतिले वितरण गरेको तक्मामा कालापानीसहितको भूभाग नभएको वितरण गरिएपछि नेता रावलले यस्तो तर्क गरेका छन्। उनले सो विषयलाई लिएर गृह मन्त्रालयबाट आएको स्पष्टीकरणले दुःख लागेको टिप्पणी गरे। ​

गृह मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्नुअघि नै तक्मा तयार भइसकेको भन्दै शनिबार विज्ञप्ति जारी गरेको थियो। त्यसो त उनले यसअघि नै सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएका थिए ।

उनले ट्विटरमार्फत राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? भन्दै प्रश्न गरेका थिए ।

राष्ट्रियताको चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिनुपर्ने उनले बताएका छन् । नेपाली भूभागको समेटिएको चुच्चे नक्सा नसमेटिनुको कारण बालुवाटारमा विदेशी गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको मन्त्रणा त होइन ? भन्दै प्रश्न गरेका छन् ।