नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर कायरता प्रदर्शन गरेको बताएका छन्।
उनले यसलाई संसदीय व्यवस्थामाथि अर्को प्रहारको संज्ञा दिएका छन्। उनले संसदको सामना गर्न नसकेर सरकार अधिवेशन अन्त्य गर्नतिर लागेको आरोप लगाए।
नेपाल प्रेस युनियन काठमाडौं शाखाद्वारा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज (सोमबार) आयोजित कार्यक्रममा बोल्दै उनले अधिवेशन अन्त्यले प्रतिनिधिसभाको मानमर्दन गरेको टिप्पणी पनि गरे।
सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन स्थगित गरेकी छन् ।
नेता सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयाससमेत जारी राखेकाले प्रेस स्वतन्त्रताविरोधी कदमचालेकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताए।
उनले अहिलेको सरकारले राजनैतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको उल्लेख गरे।
सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै उनले विकास निर्माणमा उल्लेखनीय केही काम नगरे पनि जनतामा विकासको भ्रम सिर्जना गर्न सफल भएको टिप्पणी गरे।
उनले अबको सरकार कांग्रेसको नेतृत्वमा बन्नुपर्नेमा जोड दिए।