नेकपा एमालेको नेपाल-खनाल पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट दर्ता गराएका छन् ।
बिहीबार (आज) नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालको तर्फबाट रिट दर्ता भएको हो ।
बुधबार नै निवेदन सर्वोच्चमा पुगेपनि समय अभावका कारण आज मात्रै रिट दर्ता भएको हो । रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही असंवैधानिक भएको बताइएको छ । त्यस्तै फागुन २४ गते अध्यक्ष ओलीले गरेको आफूपक्षीय निर्णयको विरुद्धमा रिट दर्ता गराएका हुन् ।
उक्त रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग र सभामुखलाई समेत विपक्षी बनाइएको छ । उक्त रिटमा आइतबार का लागि पेशी तोकिएको छ ।