एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चार जना सांसदहरू पदमुक्त भएका छन् ।
‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका कर्णाली प्रदेशसभाका चार जना सांसद पदमुक्त भएका हुन् ।
कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्तर्गत सोमबार आयोजित दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै सांसद पदमुक्त भएको सुचना सुनाएका हुन् ।
सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क) बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री शाहीलाई पार्टीको ह्वीप विपरीत मत दिएपछि उनीहरुलाई एमालेले सांसदबाट निष्काशन गरेको थियो । चार सांसदमध्ये ज्वालाबाहेक अन्य तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री समेत बनाइसक्नुभएको छ ।