लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले प्रेस बिज्ञप्ती जारी गर्दै पोखरेलको राजीनामा माग गरेका हुन्।
चार दलीय विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल असंवैधानिक बाटोबाट पद बहाली गरेको भन्दै राजीनामा माग गरेका छन् ।
चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन्।
अल्पमतमा रहेका बेला पोखरेलले मुख्यमन्त्रीको सपथ लिनु असंवैधानिक कदम भन्दै बहुमत समर्थन रहेका माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने चार दलको माग छ ।
चार दलले जारी गरेको विज्ञप्ति अनुसार नेकपा एमालेका दुई सांसदले राजीनामा दिएको र नेकपाबाट निर्वाचन लडेका एक सांसद माओबादीमा प्रवेश गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
एमालेबाट निर्वाचित दृघनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएका छन् भने नेकपाबाट उपनिर्वाचन जितेकी बिमला खत्री माओबादी केन्द्रमा प्रवेश गरेकी छन् ।
हाल ७९ सदस्यीय रहेको प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३७ मत मात्रै छ । बहुमतका लागि ४० सांसदको मत जरूरी हुन्छ ।