महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज बिहान कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।
यो सँगै जिल्लामा मृतकको संख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन्।
उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका-४ का ४० वर्षीय, औरही नगरपालिका–७ का ५५ वर्षीय र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेसन कक्षमा उपचार भइरहेको थियो। मृतक तीनैजनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।
आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय संक्रमितको संख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन्।
त्यसैगरी ६ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन्। रासस