logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री राउतले मागे युएनसँग सहयोग


अंकुरण खबर
1.001K
Shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्न राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरुलाई आग्रह गरेका छन् ।

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीसंगको छलफलमा मुख्यमन्त्री राउतले कोरोना महामारी नियन्त्रण र उपचार गर्न अति आवश्यक रहेको भेन्टिलेटर, अक्सिजन ग्याँसको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराउन युएन एजेन्सीका प्रदेश प्रतिनिधिहरुसँग आग्रह गरेका हुन् ।

युएन एजेन्सीहरुले मुलुकलाई गर्दै आएको सहयोग प्रदेश २ मा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले आवश्यक सहयोग प्रदेश २ सम्म पुर्याउन उनीहरुलाई आग्रह गरेका छन् ।

महामारी नियन्त्रणमा गर्दै आएको सहयोगका निम्ति मुख्यमन्त्री राउतले धन्यवाद दिँदै प्रदेश २ का नागरिकका निम्ति युएन एजेन्सीहरुले अनगामी दिनमा थप सहयोग वृद्धि गर्नुपर्ने बताए ।

छलफलमा युएनडिपीका धनबहादुर चन्द, युएनडीएसएसका जितेन्द्रजंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रको सहभागिता रहेको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.  भोगेन्द्र झाले बताए ।