logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको शपथविरुद्धको रिट दर्ता, मंगलबार सुनुवाइ हुने


अंकुरण खबर
715
Shares

प्रधानमन्त्री केपी ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट आज (सोमबार) दर्ता भएको छ।

उक्त रिट उपर भोलि (मंगलबार) सुनुवाइ हुनेगरी पेसी तोकिएको जनाइएको छ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित कानुन व्यवसायीहरू अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीआइतबार उक्त रिट लिएर सर्वोच्च पुगेका थिए।

रिट अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको सर्वोच्च स्रोतले बताएको थियो। उनीहरूले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको र पुनः शपथ लिनुपर्ने भन्दै भन्दै रिट हालेका हुन्।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए ।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले पुनः दोहोर्‍याए पनि ओलीले यो पर्दैन भन्दै शपथग्रहण अगाडि बढाएका थिए ।

निवेदकहरुले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा  ‘बादल’को नियुक्ति बदरको पनि गर्न माग गरेका छन्।

‘संघीय संसदको सदस्य नभएको व्यक्ति एकपटक मात्र मन्त्री हुन पाउने र ६ महिनाभित्र संसद सदस्यता लिनुपर्ने संवैधानिक व्यवस्था छ,’ सर्वोच्चमा दर्ता भएको रिटमा उल्लेख छ।