नेकपा एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले बसिरहेको छ ।
कार्यदल बनेको दुई दिनपछि पहिलोपटक बसेको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरूको कार्यव्यवस्ताले ढिलागरी शुरु भएको हो ।
बैठकमा ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । कार्यदलका दुई सदस्य विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित रहेका छन् ।
त्यस्तै खनाल–नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्तको सहभागीता रहेको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो । कार्यदलमा दुवै पक्षका पाँच-पाँच जना नेता रहेका छन् ।
ओली पक्षको नेतृत्व सुवास नेम्वाङ र माधव पक्षको नेतृत्व भीम रावलले गरेका छन् । पार्टीभित्रको विवाद टुङ्ग्याउन कार्यदलले पाएको तीन दिनको समय भोलि सकिदैछ ।