बाँकेमा थप पाँचजना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतक पाँचैजना बाहिरी जिल्लाका हुन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दियाका तीन जना र दाङका दुई जनाको मृत्यु भएको हो ।
बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ २ गते भर्ना गरिएको थियो । यस्तै, बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ६ का ५५ वर्षीय पुरुषको भेरीमै मृत्यु भएको छ । वैशाख ७ गते कञ्चनपुरमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नम्बर १२ का ५५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । यसैबिच दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
यस्तै दाङ लमही नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ९ गते भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको छ ।