नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले जारी गरेको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना अव्यावहारिक भएको भन्दै आपत्ति जनाएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जेठ १ गते स्नातक तहको परीक्षा आवेदन खुला गरेको सूचना प्रकाशित गरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमार्फत् जेठ २० भित्र आवेदन दिन सूचना जारी गरेको थियो ।
ग्रामिण क्षेत्रमा प्रविधिको पहुँच नभएकोले अनलाइन फारम भर्ने कार्य अव्यावहारिक हुने संघको ठहर छ । कतिपय स्थानमा बैंक र वित्तिय संस्थाहरु समेत बन्द रहेकाले फारम दस्तुर बुझाउन कठिन हुने प्रति संघले ध्यानाकर्षण गराउँदै सूचना परिमार्जन गर्न आग्रह गरेको छ ।
तोकिएको म्यादभित्र आवदेन नबुझाउनेलाई दोब्बर दस्तुर उठाउने कार्य हास्यास्पद भएको संघका अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। कोरोनाले असर पारेको प्रतिकूल समयमा विद्यार्थीले दोब्बर शुल्क बुझाउन नसक्ने संघले जनाएको छ ।