logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतार विश्वकप छनोट, चाइनिज ताईपेइसँग भिड्दै नेपाल


अंकुरण खबर
2.392K
Shares

कतार विश्वकप–२०२२ र एसियन कप–२०२३ का लागि जारी एसिया क्षेत्रको छनौट खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज आफ्नो छैटौं खेल चाइनिज ताईपेइसँग खेल्दै छ।

यो खेल कुवेतमा नेपाली समयअनुसार आज राति ठीक ९ः४५ बजेबाट सुरु हुनेछ। खेल जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। यो खेल नेपाली टोलीका लागि महत्त्वपूर्ण खेल रहनेछ।

छनौट खेलमा समूह ‘बी’मा रहेको नेपालले यसअघि ५ खेल खेलिसकेको छ। जस मध्ये नेपालले ४ खेल हारेर मात्रै एक खेल जितेको छ। नेपाल ३ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ। अंक तालिकामा नेपाल चाइनिज ताईपेइभन्दा मात्रै अघि रहेको छ। सो समूहमा ४ वटै खेल जितेको अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ भने समान १० अंक भएका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यसअघिका ५ खेलमध्ये ४ खेल हारिसकेको नेपालका लागि विश्कप छनौटको तेस्रो चरणमा जाने सम्भावना करिब सिद्धिसकेको अवस्थामा एसियन कपमा छनौट हुने समभावना कायम राख्न नेपाल दुवै समूहबाट समग्रमा चौथो स्थानमा रहन सक्नुपर्छ । त्यसका लागि नेपालले बाँकी ३ खेलमा राम्रो नतिजा निकाल्न सक्नुपर्छ । तसर्थ, नेपाली टोली अहिले ठूलै दबाबमा रहेको छ।

नेपालले केही दिनअघि मात्रै इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालबाट इराक पुगेर नेपालले घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्दा ६–२ को हार व्यहोरेको थियो । फिफा वरीयतामा नेपालले आफूभन्दा १०३ स्थान सिनियर इराकसँग छनौट खेलको तयारीस्वरूप खेलेको थियो। सो खेलपछि नेपाल पैदालमार्ग हुँदै कुवेत पुगेको थियो । नेपालले खेल्न बाँकी ३ वटै खेल कुवेतमै खेल्नेछ । बाँकी ३ मध्ये पहिलो खेल आज चाइनिज ताईपेइसँग खेल्न लागेको हो।

आज कुवेतको भूमिमा खेल्दा नेपाली टोलीलाई मौसम र वातावरणका हिसाबले कठिन पर्न सक्छ। कम तापक्रममा खेल्ने बानी परेका नेपाली खेलाडीका लागि कुवेतको उच्च तापक्रममा खेल्न सहज हुनेछैन आज चाइनिज ताईपेइविरुद्ध खेल्दा नेपाली टोली अघिल्लो खेलकै नतिजा दोहोराउने दाउमा हुनेछ। यसअघि नेपालले उसलाई २–० ले हराएको थियो।

कुवेतमा नेपालले छनौटअन्तर्गत खेल्ने ३ वटै खेल नेपालमा प्रत्यक्ष प्रशारण हुनेछ। नेपालमा यी खेल कान्तिपुर टिभीले लाइभ दिनेछ। तीन दिनअघि मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर टिभीबीच नेपालको खेल लाइभ गर्ने विषयमा दोहोरो सम्झौता भएको छ।