logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई मन्त्रालयसहित कांग्रेस कर्णाली सरकारमा सहभागी हुँदै


अंकुरण खबर
689
Shares

कर्णाली प्रदेश सरकारमा कांग्रेस पनि दुई मन्त्रालयसहित सहभागी हुने भएको छ।

आज साँझ बस्ने कर्णाली प्रदेश सरकारको बैठकले कांग्रेसका दुई मन्त्रीलाई नियुक्ति दिने र भोलि (शुक्रबार) उनीहरूको शपथ ग्रहण हुने मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत माग्दा कांग्रेसले पनि समर्थन गरेको थियो।

कर्णाली सरकारमा कांग्रेसका तर्फबाट दुईजना मन्त्री बन्न लागेको कांग्रेस प्रदेश संसदीय दलका एक नेताले बताए। तर सरकारमा ककसलाई पठाउने भनेर टुंगो भने केही बेरमा लाग्ने उनले बताए।

कांग्रेसले सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय पाउने बताइएको छ। ती दुवै मन्त्रालय केही समयदेखि मन्त्रीविहीन थिए।

कांग्रेस निकट अर्को स्रोतका अनुसार सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत मन्त्रालयमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई पठाउने लगभग पक्का भइसकेको छ। ‘गुट र भेगको सन्तुलन मिलाएर सरकारमा पठाउन लागिएको कांग्रेसका एक सांसदले बताए।

कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीन र एमालेको नेपाल समूहका तीन मन्त्री छन्। कांग्रेसका दुई थपिएपछि मन्त्रिपरिषद्मा ८ सदस्य हुनेछन्।

कर्णली प्रदेशसभा ३५ सदस्यीय छ। जसमा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्।