फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा १० खेलाडीमा सिमित रहेको नेपाल अष्ट्रेलियासँग ३-० गोलले पराजित भएको हो ।खेलको ६ मिनेटमै अस्ट्रेलियाका लागि म्याथ्यु लकीले पहिलो गोल गरे । त्यस्तै, ३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । अस्ट्रेलियका लागि मार्टिन बोयलले ५७ मिनेटमा तेस्रो गोल गरे ।
खेलको ४५ मिनेटमा नेपालका रोहित चन्दले सिधा रेडकार्ड पाउँदै मैदान छाड्न बाध्य भए । उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए । खेलमा नेपाली टिमले डिफेन्समा राम्रो खेल देखाएको थियो । नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले अस्ट्रेलियाका धेरै प्रहारलाई रक्षा गरेका थिए । नेपालले भने जम्मा एक पटक अस्ट्रेलियाको पोष्टमा प्रहार गरेको थियो ।
जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ । शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ‘बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो ।
अस्ट्रेलियाले ७ खेलमा जित निकाल्दै २१ अंक जोडेको छ । ८ खेल खेलेको नेपाल दुई खेलमा जित निकाल्दै ६ अंकसहित चौथो स्थानमा रहयो ।