logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सूर्यविनायक–धुलिखेल सडक आगामी आर्थिक वर्षमा विस्तार हुने


अंकुरण खबर
2.132K
Shares

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिए । उनले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पारे ।

सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट ।