प्रदेश २ का प्रदेशसभामा जेठ २७ गते पेस भएको नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यसूची छ ।
उक्त नीति तथा कार्यक्रममाथिको शनिबार छलफल थालिएको थियो र आज थप छलफल भएपछि त्यसलाई पारित गरिने बताइएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारितका लागि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले ह्विप नै लगाएको छ । जसपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले सचेतकलाई ह्विप लगाउन निर्देशन दिएका थिए ।
जसपाका एक सांसदले सबै सांसदले ह्विप मान्नैपर्ने बताए। संघीय सरकारमा जाने नजाने भन्ने विषयले जसपामा लामो समयदेखि विवाद छ । अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोको नेतृत्वमा पूर्व राजपाका नेताहरूलाई केन्द्रीय सरकारमा पठाएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले पूर्व समाजवादी पार्टीका सांसदहरूको साथ लिएर प्रदेश २ मा कांग्रेस समेतको सहभागितामा सरकार परिवर्तन गरिसकेको छन् ।
पूर्व राजपा पक्षले नीति तथा कार्यक्रम पारित गर्न गर्न नदिने आशंका उत्पन्न भएपछि यस किसिमको ह्विप लगाइएको एक सांसदले बताए ।