logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपामा ठाकुर-महतो पक्षले एकपक्षीय रूपमा गर्यो कार्यकारिणी समिति विस्तार


अंकुरण खबर
1.183K
Shares

जसपा अध्यक्ष महन्थ ठाकुरले एकपक्षीय रूपमा केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेका छन्।

कार्यकारिणी समितिमा ठाकुर पक्ष हालसम्म अल्पमतमा थियो । आफ्नो पक्षमा बहुमत पुर्याउन थप सदस्य मनोनित गरेका हुन्। काठमाडौं बबरमहलस्थित पार्टी कार्यालयमा आइतबार सम्पन्न ठाकुर पक्षको बैठकले कार्यकारिणी समिति विस्तार गरेको हो ।

मनोनित नयाँ सदस्यहरूमा विमल श्रीवास्तव, उमाशंकर अरगरिया, डा. विजयकुमार सिंह, सुरेन्द्र झा, उपेन्द्र महतो, राजीव झा, परमेश्वर साह,सन्तवीर महतो, सुरेश मण्डल, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, कृष्णा सिंह, शतरजित यादव, अभिराम शर्मा र मुकेश झा छन् ।

जसपाको विधानअनुसार कार्यकारिणी समिति ५३ सदस्यीय हुन्छ । हाल जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २६ जना पूर्वराजपा र २५ जना पूर्वसमाजवादी पार्टीका हुन्। दुई सदस्य मनोनित गर्न बाँक थियो ।

पूर्वराजपाबाट कार्यकारिणी सदस्य बनाइएका रेशमलाल चौधरी जेलमा छन्।

हालको समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३१ जना खुलेका छन् । २० जनाले मात्र अध्यक्ष ठाकुरलाई साथ दिएका छन् । सोही कारण ठाकुरले १६ जना सदस्य थपेर केन्द्रीय कार्यकारिणी समितिलाई ६७ सदस्यीय बनाएका छन् । थप सदस्यहरूको सूची निर्वाचन आयोगमा पठाउने तयारीमा ठाकुर पक्ष छ ।