नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न माग गरेका छन्।
बुधबार बिहानै सामाजिक सञ्जालमार्फत कांग्रेस सभापति देउवाले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकोले उद्धारका लागि सरकारसँग माग गरेका छन्।
यससँगै कांग्रेसका नेता तथा कार्यकर्तालाई बाढीपहिरोमा परेका जनताको उद्धारका लागि जुट्न पनि निर्देशन दिएका छन्।
उनले पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। देउवाले भनेका छन्, ‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु।’
मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बजारमा क्षति पुर्याएको छ। त्यस्तै, मनाङमा पनि कयौं परिवार विस्थापित भएका छन्।